हिमालय रोडिज–३ को अडिसन सुरु हुँदै

काठमाण्डौ । एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ‘हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलता पूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजन मार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो ।

सिजन ३ नयाँ चुनौती, नयाँ फर्म्याट, नयाँ अनुहार एवं नयाँ शैली र आश्चर्य सहित आएको कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी बताउँछन् । यो सिजन प्रतिस्पर्धी, निर्माण युनिट र जजका लागि समेत निकै चुनौतीपूर्ण हुने उनी बताउँछन् । ‘सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौं’ अधिकारीले भने– ‘प्रतिस्पर्धी मात्र हैन, यसपटक सेलिब्रेटी ग्याङ लिडरहरुनै चुनौतीपूर्ण खेलमा सहभागी हुनेछन् ।’ यसपटक चारजना सेलिब्रेटी जजहरुले चारवटा ग्याङको नेतृत्व गर्नेछन् ।

दिया मास्के, आशिष राना ‘लाहुरे’, हिमालय रोडिज पहिलो सिजनका बिजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाहीले ग्याङ(समूह) लिड गर्नेछन् । अघिल्ला सिजनहरुमा जज रहेका रेमनदास श्रेष्ठले कार्यक्रम होस्ट गर्नेछन् । यो बर्ष पनि नेपालका पाँच मुख्य शहरहरु– धरान, चितवन, नेपालगञ्ज, पोखरा र काठमाण्डौमा अडिसन हुने छ । नेपालगञ्जमा पहिलोपटक अडिसन हुन लागेको हो ।

हरेक शहरबाट १०–१५ जना प्रतिस्पर्धीहरुलाई छनौट गरी चारवटा ग्याङ(समूह)मा बिभाजन गरिने छ । जर्नी राउण्ड सुरु भएपछि छानिएका प्रतिस्पर्धीहरुले बिभिन्न टास्कहरुमा सहभागी भई आफ्नो शासशिक कौशल प्रर्दशन गर्नेछन् ।

यो बर्ष अघिल्ला बर्षजस्तो केवलप्रतिस्पर्धीहरुमात्र टास्कमा सहभागी नभई सेलिब्रेटी ग्याङ लिडर पनि आफ्नो टीमका सदस्यलाई अघि बढाउन योजना बनाउन, खेल्न र टीमलाई जिताउन संर्घष गर्नेछन् ।

अडिसन हुने शहर

१. धरान – भाद्र २८ गते सेप्टेम्बर १४
२. चितवन – भाद्र ३१ गते सेप्टेम्बर १७
३. नेपालगञ्ज – असोज ३ गते सेप्टेम्बर २०
४. पोखरा – असोज ६ गते सेप्टेम्बर २३
५. काठमाण्डौ – असोज ९ गते सेप्टेम्बर २६

भायाकम–१८ को लाइसेन्स अन्तर्गत रहेर हिमालय टेलिभिजन एचडीले यो कार्यक्रमको अन्तर्राष्ट्रिय प्रशारण अधिकार (इन्टरनेशनल फ्रेन्चाइज) लिई नेपाली दर्शकसमक्ष प्रसारण गर्दै आएको छ ।

‘एचडी प्रविधिमा अपग्रेडसहित हिमालय टेलिभिजनको रिब्राण्डिङ भए पश्चात हामीले पहिलोटक नयाँ ढाँचाको रोडिज नेपाली दर्शकलाई दिन खोजिरहेका छौं’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने–‘उच्चस्तरीय प्रविधि, नयाँ ढाँचा र नयाँ गन्तब्यहरु सहित आउन लागेको सिजन–३ दर्शकका लागि साँच्चिकै सरप्राइज हुने छ ।’ कार्यक्रमको टाइटल स्पोन्सर अघिल्लो सिजनमा जस्तै ‘यामाहा एफ जेड’ रहेको छ । इच्छुक प्रतियोगीहरुले www.himalayatv.com/roadies  वा www.facebook.com/himalayatv  मा गई अनलाइन फर्म डाउनलोड गर्न सक्नेछन् । फर्म भरेर आफ्नो नागरिकताको प्रतिलिपि र फोटोसहित अडिसनस्थलमा आउनु पर्ने छ । सिजन ३ का बिजेताले नगद पुरस्कार र यामाहा एफ जेड बाइक जित्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *