चलचित्र पत्रकारिता हिजो र आज

विजयरत्न तुलाधर
काठमाडौँ । वि.सं. २००७ असोज २२ गतेका दिन भारतीय भूमिमा निर्माण प्रारम्भ गरिएको नेपाली चलचित्र “सत्य हरिश्चन्द्र”लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने यसको इतिहासले सत्तरी वर्ष प्रवेश गरेको देखिन्छ । यदि वि.सं. २०२२ असोज १५ गते प्रदर्शित “आमा” लाई पहिलो चलचित्र मान्ने हो भने पनि पचास वर्षको अवधी पार गरीसकेको छ नेपाली चलचित्रको इतिहास ।

पहिलो नेपाली चलचित्र कुन हो भनी निक्र्यौल गर्न नसकेको नेपाली चलचित्र इतिहासमा चलचित्रलाई समेटेर गरिने पत्रकारिताको इतिहासलाई खोतल्न त्यत्ति सहज छैन र खोतल्दै जाँदा अहिलेसम्ममा भेटिएको सबैभन्दा पहिलो पत्रिका भनेको “सिनेमा” हो भन्ने देखिन्छ । यो पत्रिका वि.सं. २०११ कार्तिक १० गतेका दिन प्रकाशनमा आएको थियो । यसका सम्पादक के.एल. कर्माचार्य हुन् र प्रकाशक प्रतापबहादुर जोशी हुन् । यो पत्रिका अन्नपूर्ण प्रेस, असनमा छापिएको हो । सिनेमा पत्रिकाको सम्पादकका रूपमा नाम दिइएका व्यक्तित्व के.एल. कर्माचार्यको पूरा नाम केशवलाल कर्माचार्य हो । उनी वरिष्ठ साहित्यविद् माधवलाल कर्माचार्यका दाजु हुन् ।

नेपालमा चलचित्र बन्ने काम शुरु नै नभएको कालखण्डमा प्रकाशित “सिनेमा” पत्रिकामा हिन्दी चलचित्रका कुराहरू छापिएका थिए । त्यस्तो हुनु स्वाभाविक पनि थियो किनभने यो पत्रिकाको मूल उद्देश्य नै नेपाली पाठकहरू माझ चलचित्रका कुराहरू पस्कनु थियो र यो आफ्नो अभिष्टमा सफल पनि भयो । पाक्षिक रूपमा प्रकाशन गर्ने भनिएको “सिनेमा” पत्रिकाको दोस्रो अङ्कसमेत प्रकाशित भएको देखिएन ।

त्यसपछि वि.सं. २०१४ श्रावण १५ गतेका दिन कुमारी मनचन्दा र शेखरकुमारको संयुक्त सम्पादकत्वमा “रङ्गमञ्च” नामक एउटा पत्रिका प्रकाशनमा आयो । यो पत्रिका साप्ताहिक रूपमा प्रकाशित गर्ने लक्ष्य लिइएको थियो । तीन अङ्कसम्म हप्तै पिच्छे प्रकाशित पनि भयो । तर पछि साप्ताहिक रूपमा प्रकाशित गर्ने योजना त्याग्दै मासिक रूपमा प्रकाशन गर्न थालियो ।

मासिक रूपमा पनि “रङ्गमञ्च” ले धेरै लामो यात्रा तय गर्न सकेन । “सिनेमा” पत्रिकाको दर्ता नम्बर का.मे.द.नं. ३८ थियो भने “रङ्गमञ्च” को दर्ता नम्बर का.मे.द.नं. १०८ रहेको थियो । दुवै पत्रिकाले आफ्नो प्रकाशन दीगो राखी राख्ने प्रयत्न स्वरुप वार्षिक ग्राहक योजना समेत अघि सारेका थिए । प्रति वर्ष दस रुपैयाँ ग्राहक शुल्क तोकेको यी दुवै पत्रिकाको यात्रा भने दीगो हुन सकेन । यस पछि वि.सं. २०२७ तिर “आराधना” र “प्रिया” गरी दुई थप पत्रिकाहरू यो फाँटमा देखिए । “आराधना” का प्रकाशक राजा बी. दुकेला, प्रधान सम्पादक श्यामराज देव र सम्पादक गोपालप्रसाद अधिकारी रहेका थिए ।

वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा चलचित्र जगतका एक गहन अध्ययनकर्ता मानिन्छन् र चलचित्रबारे कलम चलाउने पहिलो व्यक्ति पनि लक्ष्मीनाथ शर्मा नै हुन् । नेपालमा चलचित्र वितरण र प्रदर्शन शीर्षकमा उनले लेखेको लेख २०२९ मङ्सिर १ गते गोरखापत्रमा छापिएको थियो । उनको यो लेख नै अहिलेसम्म भेटिएको नेपाली चलचित्र बारे छापिएको सम्भवतः पहिलो लेख हो भन्ने देखिन्छ । चलचित्र निर्देशनका साथसाथै चलचित्र बारे विचारोत्तेजक लेखहरू लेख्दै आइरहेका वरिष्ट चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा नै चलचित्र सम्बन्धी पुस्तक लेख्ने पहिलो लेखक हुन् । उनले लेखेको पुस्तक “चलचित्रकला” वि.सं. २०३८ असारमा प्रकाशित भएको थियो । शुरुका दिनहरूमा नेपाली चलचित्र बारे कलम चलाउने चेतन कार्की पनि नेपालका वरिष्ठ चलचित्रकर्मीका रूपमा चिनिनु हुन्छ । उनले ती दिनमा लेखेका लेखहरू मध्ये तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा (२०३१) प्रकाशित “भानु” पत्रिकामा छापिएको “चलचित्र संक्षिप्त इतिहास र वर्तमान”लाई अहिले ऐतिहासिक दस्तावेजको रूपमा लिन सकिन्छ ।

यसै बीच वि.सं. २०२८ तिर नै नरेन्द्र विलास पाण्डेको सम्पादनमा “नयाँ संसार”को प्रकाशन आरम्भ भयो । वरिष्ठ चलचित्र व्यवसायी उद्धव पौड्र्यालका अनुसार नरेन्द्रविलास पाण्डेको सम्पादनमा ”सिनेमा संसार“नामको एउटा पत्रिका पनि प्रकाशित भएको देखिन्छ र सो पत्रिकामा उद्धव पौडेल स्वंयले पनि कलम चलाएको देखिन्छ । यो चलचित्र पत्रिका कै रूपमा प्रकाशित गरिएको थियो र यसमा पनि हिन्दी चलचित्र बारेका कुरा नै बढी छापिने गर्थे । रमेशनाथ पाण्डेको सम्पादनमा “नयाँ सन्देश” नामक एउटा पत्रिका पनि त्यत्ति नै बेला देखा प-यो । मनोरञ्जनलाई मूल विषय बनाइएको “नयाँ सन्देश” मा तत्कालीन युवा वर्गका मन जित्ने खालका सामग्रीहरू समावेश गरिएका थिए । त्यतिबेला प्रकाशनमा आएका पत्र–पत्रिकाहरू मनोरञ्जन मूलक नै भए पनि त्यसमा साहित्यिक स्तम्भ पनि राख्ने चलन थियो । त्यत्ति मात्र नभई अहिलेका विख्यात साहित्यकारहरूले समेत कलम चलाएका थिए ।

विश्व बस्नेतको प्रयासमा नेपालकै पहिलो रङ्गीन पत्रिकाको रूपमा “मधुरम” प्रकाशनमा आयो । यो मूलतः चलचित्र विषयकै पत्रिका थियो । महङ्गो प्रविधि अपनाइएको कारण “मधुरम”ले सोचे जस्तो बजार लिन सकेन । यो पत्रिका दीगो रहन नसके पनि नेपाली चलचित्रको लागि भनेर प्रकाशित गरेको पहिलो पत्रिका यसैलाई मान्नु पर्दछ । वि.सं. २०३७ सालबाट प्रकाशन आरम्भ भएको “पुकार” पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक हिमालय लोहनी हुन् । अहिलेका विख्यात साहित्यकार एवं चलचित्र निर्देशक प्रकाश सायमी त्यतिबेला यस पत्रिकाका प्रधान सम्वाददाताका रूपमा रहेका थिए । साहित्यिक द्वैमासिकका रूपमा प्रकाशित “पुकार” लगायत “परिवर्तन” र “ममता” जस्ता पत्रपत्रिकामा पनि चलचित्रलाई केही स्थान दिने गरिएको थियो ।

“ममता” भन्दा पहिलो जी.पी. शर्माले “हिमाली साँझ” नामक पत्रिका पनि प्रकाशित गरेका थिए । वि.सं. २०३२ मा प्रकाशन आरम्भ भएको यो पत्रिकामा चलचित्रका समाचार पनि छापिने गरेका थिए । यही “हिमाली साँझ” लाई पछि “ममता” नाम दिइएको थियो र “ममता” पनि बन्द भए पछि २०४१ मङ्सिर १५ गतेका दिन चलचित्र मासिकका रूपमा “कामना” प्रकाशनमा ल्याए । त्यतिबेला “कामना” का सम्पादक विजय उदय पाल्पाली रहेका थिए । हाल “कामना” का प्रधान सम्पादक र प्रकाशक रहेका पुष्करलाल श्रेष्ठले त्यतिबेला प्रकाशकको मात्र जिम्मेवारी बहन गरेका थिए भने “कामना” प्रकाशन थालिएको दुई अङ्क पनि बित्न नपाउँदै सम्पादक विजय उदय पाल्पाली यसबाट अलगिए । उनी अलगिए पछि पुष्करलाल श्रेष्ठ स्वयं नै सम्पादक र प्रकाशकको जिम्मेवारी वहन गर्दै अगाडि बढे । यो क्रम निरन्तर रूपमा अघि बढिरहेको नै छ । पैतिस वर्ष अगाडि ट्याब्लोईड साइजमा श्यामश्वेत पृष्ठहरूमा प्रकाशित “कामना” ले आफ्नो प्रकाशनको २५ औं अङ्क पुग्दा आवरण र केही पृष्ठ रङ्गीन कलेवरमा छाप्न शुरु गरेको थियो भने अहिले पूर्ण रूपमा रङ्गीन पृष्ठहरू प्रकाशित भइरहेका छन् ।

उसो त ७÷०४१–४२ दर्ता नं. रहेका “कामना” भन्दा अगावै १०–९÷०३८–३९ दर्ता नं. रहेको “कलाकार आवाज” र दर्ता नं. ५७÷०३६–०३७ रहेको “रूपरङ्ग” पत्रिका पनि अस्तित्वमा आइसकेको थियो । तर यी पत्रिकाहरू पनि “कामना” प्रकाशन थालिएपछि मात्र नियमित रूपमा प्रकाशन यात्रामा अगाडि बढेका थिए । “कलाकार आवाज” का सम्पादक सुभाष गजुरेल हुन् । “रुपरङ्ग” का सम्पादक श्री आचार्य हुन् । शुरुमा यी पत्रिकाहरु सामान्य छपाई प्रविधिमा छापिएका थिए । चलचित्र पत्रकारिता क्षेत्रको विकासको युगको थालनीको रूपमा लिन सकिने यही कालमा विजयरत्न तुलाधर, रमण घिमिरे पछि डि.पि. शाह चक्रवर्ति, प्रदीप भट्टराई, रमण घिमिरे , राजेश खनाल, श्रीओम श्रेष्ठ रोदन ,शैलेश आचार्य जस्ता अग्रज पुस्ताका चलचित्र पत्रकारहरूले आफ्नो पत्रकारिताको यात्रा आरम्भ गरे । यस्तै गरी मोहन निरौला सम्पादक र राजेश खनाल सह सम्पादक रहेको “चलचित्र”पनि यो फाँटको एक उल्लेखनीय पत्रिका थियो ।

यसरी हेर्दा वि.सं. २०११ सालमा प्रकाशित नेपालको पहिलो चलचित्र पत्रिका “सिनेमा” बाट आरम्भ भई आज भन्दा एघार वर्ष अगाडि प्रकाशन थालिएको शान्तिप्रियको “फिल्मीखबर” सम्म आईपुग्दा यो पत्रिकाले एउटा नयाँ आश देखाएको छ । यो पत्रिका प्रकाशनमा आउनु अघि आर.के. सुवेदीले साप्ताहिक रूपमा “बक्स अफिस” प्रकाशन आरम्भ गरेका थिए ।

अहिले विज्ञानको विकास र प्रविधिको विकास सँगसँगै चलचित्र पत्रकारिताको क्षेत्र पनि दिनानुदिन विस्तारित हुँदै गइरहेको छ । अहिले प्रकाशनमा आइरहेका सम्पूर्ण राष्ट्रिय दैनिकहरूमा चलचित्र सम्बन्धी सामग्रीका लागि छुट्टै पृष्ठ छुट्याउने चलन बढेको छ । विगतका दिनहरूमा त्यस्तो थिएन (चलचित्रको सानो समाचारसम्म छपाउन पनि गाह्रो थियो) अहिले चलचित्र पत्रकारिताको क्षेत्र बढ्दै गई टेलिभिजन रेडियो, एफ.एम. सम्म पुगिसकेको छ । यतिमात्र नभई इन्टरनेटको माध्यमबाट पनि चलचित्रको पत्रकारिता अगाडि बढ्न थालेको छ । अहिले टेलिभिजन च्यानलहरू पनि धेरै भइसकेका छन् । ती सबै टेलिभिजनमा अहिले चलचित्र विषयको कार्यक्रम प्रसारण भइरहेको छ ।

टेलिभिजनमा चलचित्र बारेका पहिलो कार्यक्रम चलाउने भरत शाक्य हुन् । उनले नेपाल टेलिभिजनमा वि.सं. २०५२ तिर पहिलो पटक “सयपत्री” नाम राखी टेलिभिजन कार्यक्रम मार्फत् चलचित्र पत्रकारिताको क्षेत्र विस्तारित गरेका थिए । विधुतिय माध्यममा रेडियो , एफ.एम लगायत वेबसाइटहरु मार्फत पनि चलचित्र पत्रकारिता फस्टाँउदै गइरहेको छ । अझ भन्ने हो भने अहिलेका दिनहरुमा त पत्रकारिताको दरिलो माध्यम भनेकै अनलाइन पत्रिकाहरु र युट्युव च्यानलहरु भईसकेका छन् । यसरी हेर्दा चलचित्र पत्रकारिताले अहिले ठूलो फड्को पार गरीसकेको छ भन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *