नयाँ स्टारहरुमा को हिट को फ्लप

बिजयरत्न तुलाधर
काठमाडौँ । वि.सं. २०७५ को चर्चा गर्दा यो वर्ष नेपाली चलचित्रको पर्दामा प्रवेश गर्ने नयाँ कलाकारहरुको संख्या गनिसक्नु छैन । वर्षको पहिलो साता यानि की २०७५ सालको बैशाख ७ गते प्रदर्शनमा आएको “स्वर्ग मेरो गाउँ” चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेका भावना गुरुङ्ग र साक्षी लम्सालदेखि सालको अन्तिम साता यानि की २०७५ सालको चैत्र २९ मा प्रदर्शित “ए मेरो हजुर३”बाट डेब्यु गरेकी सुहाना थापा र “यात्रा”बाट डेब्यु गरेकी मलिका महतसम्मको नयाँ नायिकाहरुले आफ्नो यात्रा शुरु गरे भने “लम्फु”का कबिर खड्का देखि “समरलभ”का हरिहर अधिकारीसम्मका नयाँ नायकहरुले यो साल आफ्नो अभिनय यात्रा शुभारम्भ गरे ।

यो वर्ष पर्दामा अवतरण गरेका नयाँ अभिनेताहरुमा सबैभन्दा बढी चर्चा कमाउने धिरज मगर हुन् । उनको पहिलो चलचित्र “ईन्टु मिन्टु लण्डनमा”यो वर्ष राम्रो चर्चा कमाउन सफल चलचित्र हो । लण्डनमा बस्ने धीरजको व्यस्तता उतैतिर नै बढी छ भने उनी चित्तबुझ्दो रोल पाए मात्रै चलचित्र खेल्ने पक्षमा छन् र उनी “आई एम ट्वाण्टिवन” नामक नयाँ चलचित्रका लागि अनुबन्धित भएको भनिए पनि त्यो चलचित्रको कुनै काम भने अहिलेसम्म थालिएको छैन । नयाँ नायिकाहरुको चर्चा गर्दा अभिनेत्रीबाट निर्माता हुँदै चलचित्र निर्देशनमा समेत आफ्नो यात्रा शुरु गरेकी झरना थापाकी छोरी सुहाना थापाको नाम सबैभन्दा चर्चित नामको रुपमा रहे । उनको पहिलो चलचित्र “ए मेरो हजुर३”लाई दर्शकले मन पराएको मात्र नभई त्यस चलचित्रमा उनको अभिनय प्रशंसित पनि भयो ।

यस्तै गरी वर्ष “अनुराग”का समुन्द्र पण्डित, “समरलभ”का आशिष पिया, “शुभलभ”का हरिहर अधिकारी, “बुलबुल”का मुकुन भुसाल, “बोबी”का उमेश थापा अभिनेताहरुमा चर्चित रहे । चलचित्रकर्मिका प्रिय ज्योतिषका रुपमा रहेका हरिहर अधिकारीको सल्लाह मानेर आफ्नो पाइला अघि सार्नेहरुले सफलता हासिल गरीरहेको सन्दर्भमा उनी आफै यस क्षेत्रमा उत्रिंदा उनको चलचित्र “शुभलभ”पक्कै सफल नै हुनेछ भनि धेरैले अड्कल काटेका थिए तर त्यसो हुन सकेन । सबैको भाग्य हेर्ने ज्योतिष अधिकारीको अभिनय यात्रा भने भाग्य शालि हुन सकेन । भारतको अभिनय प्रशिक्षणशालाबाट तालिम प्राप्त गरेका मुकुन भुसाललाई “बुलबुल” चलचित्रमा उनले निर्वाह गरेको चोपेन्द्र नामक चरित्रको कारण चर्चामा ल्याएको छ । “नाईं नभन्नु ल ५”का अभिषेक नेपालको डेब्यु चलचित्र व्यापारिक रुपमा सफल मानिएको चलचित्र हो तर उनको अभिनय यात्रा भने सफल भएको देखिएन ।

अनि “मत्तीमाला”की रजनी गुरुङ्ग, “समरलभ”की रेवती क्षेत्री, “जानी नजानी”की निरिशा बस्नेत, “ड्रिम गर्ल”की आश्मा गिरी, “द ब्रेकअप”की शिल्पा मास्के, “क्याप्टेन”की उपासना सिंह ठकुरी, “रणवीर”बाट डेब्यु गरेका सुपुष्पा भट्ट र सुभेच्छा खड्काको नाम अग्रपंक्तिमा परेको छ । रजनी गुरुङ्गको यसै वर्ष एउटा अर्को चलचित्र “साली कसको भेनाको” पनि प्रदर्शित भएको छ । एउटी नयाँ नायिकाको एकै वर्षभित्र दुइवटा चलचित्रलाई उपलब्धिपूर्ण भन्ने ठाउँ त छ तर त्यसपछी उनको अभिनय यात्राबारे थप चर्चा सुन्न पाईएको छैन । उपन्यासकार सुबिन भट्टराईका बेस्ट सेलर उपन्यास “शुभलभ”मा आधारित सोही नामको चलचित्रबाट डेब्यु गरेका नायिका रेवती क्षेत्री यो चलचित्र रिलिज हुनुभन्दा अगाडि चर्चाको शिखरमा थिइन् । विशेष गरेर उनले यो चलचित्रमा दिएको वस्त्रहिन दृश्यलाई चर्चाको विषय बनाइएको थियो तर चलचित्र प्रदर्शन पछी नायिका रेवती क्षेत्रीलाई कुनै खास लाभ भएन भने नायक आशिष पियाको पनि खासै चर्चा चुलिन पाएन ।

“सिन्दुर”का नायक विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले आफ्नो अभिनय गन्तव्यको रुपमा भारतको हिन्दि चलचित्र नगरीलाई लक्ष्यको रुपमा लिएकी छिन् भने उनले केही हिन्दि सिरीयलमा पनि अभिनय गरेकी छिन् । उनको पहिलो चलचित्र व्यावसायिक रुपमा फ्लप मानिए पनि त्यसमा उनको अभिनयको भने प्रशंसा नै भएको छ । यो वर्ष एक अर्का अभिनेत्री पुत्रीका रुपमा उमा बेबीकी छोरी शिवानी गिरी “कहीं कतै”बाट पर्दामा देखिए पनि उनको यो प्रयास फलदायी साबित हुन सकेन ।

“चिं मुसी चिं”बाट डेब्यु गरेका नायक सुनिल क्षेत्रीलाई कुशल नृत्य कलाकारको रुपमा चर्चा गरिएको थियो भने भारतमा आयोजित एक डान्स रियालिटिमा समेत भाग लिएका थिए भने यही चलचित्र की नायिका अलिशा शर्मा पनि भारतमा आयोजित “स्पिट्सभिल्ला”का प्रतियोगी हुन् । भारतमा समेत आफ्नो प्रतिभा देखाएर आएका नायक नायिकाको यात्रा नेपालमा भने पहिलो चलचित्रसम्ममात्र सिमित हुन पुग्यो । “द ब्रेकअप”बाट डेब्यु गरेकी शिल्पा मास्केको पनि यसै वर्ष दोश्रो चलचित्रका रुपमा “कागजपत्र” पनि प्रदर्शित भयो । हलिउड चलचित्र “डा.स्टे«न्ज”मा समेत अभिनय गर्ने अवसर पाएकी शिल्पाबाट नेपाली चलचित्र जगतले धेरै ठूलो आशा लिएका थिए । उनका प्रदर्शित चलचित्रहरुले व्यावसायिक सफलता हासिल गर्न नसके पनि उनी स्वयंले भने दर्शक र समीक्षकको प्रशंसा पाउन सफल भईन् ।

व्यावसायिक रुपमा अत्याधिक संख्यामा चलचित्रहरु फ्लप भएको यो वर्ष पर्दामा पदार्पण गरेका स्टारहरु खासै चम्किन नपाए पनि यी स्टारहरु कुनै न कुनै कारण भने चर्चाको विषय बन्न सफल भए तर नायकहरुमा आर्यन सिग्देल पछिको पुस्ताका रुपमा देखिएका अनमोल के.सी.,प्रदिप खड्का, पल शाह अनि त्यस पछीको पुस्ताका रुपमा उदाएका आयुष्मान देशराज र आकाश श्रेष्ठको स्थानमा आउन सक्ने नयाँ नायक नदेखिए जस्तै नायिकाहरुमा रेखा थापा पछी नम्रता श्रेष्ठ र प्रियंका कार्की अनि त्यसपछी साम्राज्ञी राज्य लक्ष्मी शाह स्थापित भए जस्तै यो वर्ष त्यो स्थानमा आउन सक्ने कुनै नयाँ नायिका आएको भने देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *