नेपाली चलचित्रमा साहित्य …….

विजयरत्न तुलाधर,  साहित्य वा कृतिमा आधारित भएर बनाइने चलचित्र कलात्मक हुने गर्दछ । त्यसैले आम दर्शकको मन जित्न यसलाई कठिन  त हुन्छ नेै साथै कृतिकार वा कृतिका समर्थकहरुको मन मा पनि यस्ता चलचित्रहरुले छाप छोड्न नसकेका उदाहरणहरु धेरै छन् ।

विश्वेश्वरप्रसाद कोेईरालाको उपन्यास “तीन घुम्ती”लाई यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । उपन्यासको रुपमा एउटा अनुपम साहित्यिक कृति मानिएको “तीन घुम्ती” ले दर्शक , समीक्षक र साहित्यिक व्यक्तित्वहरु मध्ये कसैको पनि मन जित्न सकेन ।

यस्तै खालको अर्को एउटा चलचित्र “शिरिषको फूल” पनि हो । यसलाई पारिजातको महानकृृति मानिन्छ । उपन्यासको रुपमा प्रकाशित हुँदा नै यो कृति नराम्ररी विवादमा मुछिएको थियो । पारिजात आफैले पनि यसलाई जनविरोधी उपन्यास भनेर घोषणा गरेकी थिइन् र यो कृतिलाई च्यातिदिए हुन्छ भनि भनेकी थिईन् ।

साहित्यमा शून्यवाद र निस्सारवाद मन नपराउनेहरुले “शिरिषको फूल” भित्र जीवनको अंश छैन भनेका थिए । उनीहरुले पारिजातलाई उनका अरु कृतिहरुमा खोज्ने गर्छन् भने उनका पक्षधरहरु “शिरिषको फूल” नै पारिजातको साहित्यिक पर्याय मान्ने गर्छन् ।

यसरी कृति आफैमा यति विवादास्पद बनेको थियो भने यसै उपन्यासमा आधारित चलचित्र विवादमा मुछिनु कुनै आठौं आश्चर्य हैन । यो नेपाली चलचित्र जगत कै सबैभन्दा बढी विवादमा मुछिएको चलचित्र हो । विवाद सिर्जना गर्नेहरुले “शिरिषको फूल” कृति भित्र जिवित निस्सारतालाई चलचित्रको पर्दामा जीवन्त बनाउन सक्छन् वा सक्दैनन् भन्ने चिन्ता पोखेका थिए ।

साहित्यमा स्वतन्त्र भएर अभिव्यक्त गर्न सकिन्छ । कुनै प्राविधिक बन्देज हुँदैन । र साहित्य बुझ्न कठिन हुन्छ भने चलचित्र बुझ्न सरल हुन्छ । तर, चलचित्रमा अभिव्यक्त गर्न कठिन छ ।

कृतिमा वर्णन गरिएको परिवेशलाई त्यसको कलात्मकता जिउँदै राखेर पर्दामा प्रस्तुत गर्न नसक्ने अवस्थाहरु रहेको हुन्छ । प्राविधिक रुपमा त कठिनाइ छँदैछ । साथै कलात्मक अभिव्यक्ति भएका चलचित्रहरु हेर्न रुचाउने दर्शक संख्याको पनि अभाव छ ।

तर नेपालमा व्यावसायिक सफलता नै चलचित्र मूल्याङ्कन गर्ने तराजुको रुपमा रहेकोले गर्दा त्यसलाई दृष्टिगत गरी चलचित्र बनाउनु पर्ने पनि अर्को बाध्यता छ । यसले गर्दा साहित्यिक कृतिको मूल कथामा थपघट गर्ने अवस्था सिर्जना हुने गर्दछ ।

डा. धु्र्वचन्द गौतमको “कट्टेलसरको चोटपटक” मा चलचित्र “वासुदेव” बनाउँदा पनि निर्देशक नीर शाह समक्ष त्यस्तै खालको बाध्यता सिर्जना भएको हुनु पर्दछ । त्यही बाध्यताले गर्दा दुई चार वटा गीत नृत्य र एक दुई नाटकीय मुक्कामोहबाट अलगिन “वासुदेव”लाई कठिन  प-यो ।

यस्तो परिस्थितिमा कृतिमा बनेका चलचित्र भित्र मर्म क्षीण हुँदै जाने सम्भावना हुन्छ । “वासुदेव” कै चर्चा गर्दा यस चलचित्रको अन्तिम दृश्य धेरै हदसम्म “अर्धसत्य” शिर्षकको भारतीय चलचित्रबाट प्रभावित देखियो । कलात्मक सिनेमाका सशक्त निर्देशक मानिने गोविन्द निहलानिको “अर्धसत्य” त्यत्तिबेला कला चलचित्र (आर्ट मूभि) मानिए पनि व्यावसायिक रुपमा समेत रामैै्र धन आर्जन गर्न सफल भएको चलचित्र हो ।

यहीे सन्दर्भमा चर्चा गर्ने हो भने “झोला”एउटा यस्तो चलचित्र बन्यो जुन चलचित्र साहित्यिक कृतिमा आधारित भएर बनेको थियो । यसभन्दा अघि पनि साहित्यिक कृति वा साहित्यिक कथामा आधारित नेपाली चलचित्रहरु नबनेका हैनन् । तर “झोला”जस्तो प्रशंसा बटुल्न सफल भएनन् । “झोला” कृष्ण धरावासीको सोहि शिर्षकमा प्रकाशित एउटा कथामा आधारित चलचित्र हो । र यो चलचित्रभित्र विद्यमान कलात्मक मूल्यको कारण प्रसंशित पनि भयो अनि संवेदनाले भरिपूर्ण कथा र प्रस्तुतिको कारणले गर्दा धेरै संख्यामा दर्शकको मन जित्न सफल पनि भयो । यसका निर्देशक यादव भट्टराई प्रसंशाका पात्र बने ।

कथा भनेको चलचित्रको मूल विषयमात्रै हो । अरु धेरै कुराहरु त प्रविधीसित जोडिएको हुन्छ । कथालाई आकर्षक ढङ्गबाट पर्दामा प्रस्तुत गर्ने काम पटकथाले गर्छ । पटकथामा नै चलचित्रलाई प्रभावशाली वा कमजोर बनाउने गुण निर्भर हुन्छ ।

त्यसैले पटकथा कुनै बन्धन वा सिमाभित्र कैद भएर लेख्नु हुँदैन । राम्ररी बुनिएको पटकथामा बनेकोे चलचित्र राम्रै हुनेछ । राम्रो पटकथाको उदाहरणको रुपमा “मुनामदन” चलचित्रलाई लिन सकिन्छ । “मुना मदन” महाकवि लक्ष्मीप्रसाद देवकोटाको महान कृति हो । यो अति संवेदनशील कृति हो । सबैभन्दा बढी बिक्री हुने पुस्तक पनि हो ।

यस हिसाबले “मुना मदन” सबैभन्दा धेरैले पढेको कृति हो । यस्तो कालजयी कृतिमाथि चलचित्र बनाउँदा चलचित्र बनाउनेले “मुना मदन” माथि अन्याय गरेको भन्ने आरोप पनि नलागेको हैन ।

आरोप लगाउनेहरुले चलचित्रभित्र कृतिमा भएको जस्तो संवेदना र मर्म छैन भनेका छन् । हृदयस्पर्शी संवादको साटो आधुनिक शैलीको संवाद थोपरिएकोमा दुःख व्यक्त गरेका छन् । मदन आमाको सपना पुरा गर्न भोट (तिब्बत) गएका थिए । त्यत्तिबेलाको वैदेशिक रोजगारको एक रुप हो त्यो । तर चलचित्रमा साहुको ऋण तिर्न नसक्दा भोग्नु परेको प्रताडनाको कारणले गर्दा विदेशिनु परेको देखाएको छ । जुन सामान्य गल्ती मान्नु नहुने विचार पोख्नेहरु पनि धेरै नै छन् ।

चलचित्र “मुना मदन” का निर्माता नवराज ढकाल यस्ता आरोपहरुको सिधै खण्डन गर्छन् । कृतिमा “क्षेत्रीको छोरो यो पाउ छुन्छन् घिनले हैन” भन्ने पंक्ति उल्लेख छ र यसको स्पष्ट अर्थ भनेको त्यहाँ मदनले पाउ नै छुनु पर्ने अर्को पनि पात्र छ भन्ने देखिन्छ । र त्यो पात्र अरु नभई मदनको परिवारको खाँचो टार्न ऋण दिंदै आएका साहु नै हो भन्ने दावी निर्माता ढकालको हो ।

सामान्यतया साहित्यिक कृतिमा बनेका चलचित्र त्यत्ति लोकप्रिय हुन सकेको देखिंदैन । व्यावसायिक सफलतामा पनि पछि नै परेको देखिन्छ । तर “मुना मदन” प्रदर्शन गरिएका प्रत्येक शहरमा लोकप्रिय नै भएको छ । र अर्थोपार्जनमा पनि अगाडि नै परेको छ ।

ईतिहासको कथालाई उपन्यासमा समेट्न सिपालु उपन्यासकार डायमन शमशेरको “बसन्ती” उपन्यासमा बनेको चलचित्र “बसन्ती” पनि व्यावसायिक रुपमा सफल नै भएको चलचित्र हो । तर यो सफलताबाट उपन्यासकार डायमन शमशेरको चित्त प्रसन्न हुन सकेन ।

निर्देशक नीर शाहले कतिपय ऐतिहासिक तथ्यलाई वेवास्ता गरेको उनको आरोप रहेको थियो । र अरु पनि धेरै कुराले गर्दा “बसन्ती” आफुले सोचे जस्तो चलचित्र नबनेको विचार पोखेका थिए कृतिकार डायमन शमशेर ।

ईतिहासलाई नै कथा बनाईएको अर्को एउटा कृति भनेको उपन्यासकार नरु थापाको “सीमारेखा” हो । यसै उपन्यासमा निर्देशक किशोर राना मगरले बनाएको चलचित्र “सीमारेखा” अति नै चर्चित चलचित्र हो । तर यसभित्र पनि धेरै ऐतिहासिक तथ्यहरु बंग्याईएको आरोप लगाउनेहरु धेरै छन् ।

संख्यात्मक दृष्टिले हेर्दा नेपालमा साहित्यिक कृतिहरुमा बनेका चलचित्रहरुको संख्या थोरैमात्र छन् । बनेका मध्ये पनि अधिकांश चलचित्रहरु कुनै न कुनै खालको आलोचनाको शिकार बन्नु परेको छ । यसैले गर्दा पनि कतिपय उत्सुक पाइलाहरु हच्किएका हुन सक्छन् भन्ने अनुमान गर्न कठिन छैन ।

कृतिमाथि बनेका अहिलेसम्मका चलचित्रहरु मध्ये गुरुप्रसाद मैनालीको कथामा निर्देशक प्रताप सुब्बाले बनाएको चलचित्र “परालको आगो” डा.धु्रबचन्द गौतमको “कट्टेलसरको चोटपटक” मा निर्देशक नीर शाहले बनाएको “वासुदेव” बालकृष्ण समको नाट्य कृति “प्रेमपिण्ड” मा निर्देशक यादव खरेलले बनाएको “प्रेमपिण्ड”, काजिमान कङ्गदङ्गवाको कथा “घरबार कि कारोबार”मा बनेको लिम्बु संस्कृतिमा आधारित चलचित्र “नुमाफुङ” र “झोला” प्रसंशा बटुल्न सफल भएका चलचित्रहरु हुन् ।

व्यावसायिक सफलताको चर्चा गर्दा निर्देशक स्व. प्रकाश थापाको “सिन्दुर” लाई कोशेढुङ्गाको रुपमा लिनु पर्दछ । “सिन्दुर” पनि साहित्यकार दौलत विक्रम विष्टको कृतिमा आधारित चलचित्र हो ।

तर कुन कृतिमा भन्ने कुरा भने विवादको विषय बन्दै आएको छ । कसैले यो “मञ्जरी” मा आधारित छ भनेका छन् भने कसैले “बादल फेरी फाट्छ” मा आधारित भन्ने गरेका छन् । यस्तै गरी निर्देशक प्रकाश थापाको चलचित्र “जीवन रेखा” केशवराज पिंडालीको “अन्त्यदेखि शुरु” मा आधारित चलचित्र हो । साहित्यलाई बौद्धिक खुराकका रुपमा लिइन्छ । त्यसैले बौद्धिक वर्गलाई नेपाली चलचित्र आकृष्ट गर्ने हो भने साहित्यिक कृतिमा धेरै चलचित्र बन्न जरुरी छ । तर त्यस्तो हुन सकिरहेको छैन ।

साहित्यिक कृतिमा चलचित्र बनाईंदा कृतिको कलात्मकता जिउँदै राख्न सक्नु पर्छ । तर कतिपय चलचित्रले त्यस्तो गर्न सकेको छैन । लिला बहादुर क्षेत्रीको “बसाईं”, ईन्द्र बहादुर राईको “जार”, प्रकाश कोबिदको “अर्को जन्म” र वासु शशीको “नगद नारायण” माथि बनेका चलचित्रहरुले कृतिभित्रको कलात्मकलाई प्रस्फुटन गर्न सकेन । “नगद नारायण” मा “लोभिपापी” चलचित्र बनाएका निर्देशक यादव खरेल यो आरोपको खण्डन गर्छन् । उनको भनाई अनुसार चलचित्रको प्रस्तुतिको क्यानभास नै बेग्लै भएकोले यी दुईको तुलना नै हुन सक्दैन भन्ने देखिन्छि ।

मोदनाथ प्रश्रितको “सपनाहरु उपहार देशलाई”मा आधारित “बलिदान” एउटा उत्कृष्ट चलचित्रको दर्जामा आउँछ । तर चलचित्रको अन्तिम दृश्य मराठी उपन्यास “थाङक्यू मिस्टर ग्ल्याड” को शैलीमा राखि दिंदा यसको मौलिकता गुमेको छ । “प्रेम पिण्ड” को चलचित्र रुप पनि लोकप्रिय नै भएको थियो । तर बालकृष्ण समको नाट्य कृति “प्रेमपिण्ड” सित परिचितहरुले प्रेमपिण्डको चलचित्र रुपलाई मूल नाट्य कृतिको शतांशको एक अंश पनि हुन सकेको छैन भन्ने गरेका छन् ।

समग्रमा भन्नु पर्दा साहित्यको क्यानभास अमुर्त हुन्छ । चलचित्र भनेको मूर्त रुप हो । साहित्य कल्पना र सिर्जनाको बन्धन रहित माध्यम हो तर चलचित्र भनेको धेरै किसिमको सीमा भित्र थुनिएर सिर्जन शील काम गर्नुपर्ने थलो हो । तर दुवै बीचको एउटा समानता भनेको दुबै कथा वाचनको सशक्त माध्यम हो ।

त्यसैले साहित्यिकलाई पर्दामा प्रविधीको माध्यमबाट वाचन गर्दा कृतिको मर्म रहने गरी दर्शकले बुझ्ने गरी वाचन गर्ने स्वतन्त्रता निर्देशकलाई दिनु पर्दछ । कृतिलाई दुरुस्त पर्दामा उतारिनु पर्छ भन्ने सोचबाट ग्रस्त हुनुहुँदैन भन्ने कुरा मनन् गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *