नेपाली चलचित्रमा बलिउडका स्टार…

विजयरत्न तुलाधर,  काठमाडौँ,  “कमिण्टमेण्ट – सिक्टि आवर्स” शिर्षकको एउटा नेपाली चलचित्र अहिले धेरै कारणले चर्चित भई रहेको छ । विशेष गरी एक्शन स्टारका रुपमा नाम कमाएका अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिंदै गरेको यो चलचित्रमा बलिउडका केही कलाकारहरुले अभिनय गर्ने भए पछि यो चलचित्र चर्चाको विषय बनेको हो ।

यही चलचित्रमा अभिनय गर्न बलिउडमा खल अभिनयका लागि नाम कमाएका पुराना कलाकार रन्जित केही दिन अगाडि नेपाल आएका थिए भने त्यस पछि मुश्ताक खान नामक अभिनेता पनि यो चलचित्रमा अभिनय गर्न नेपाल आए ।  केही समय अगाडि मात्रै निर्माता –निर्देशक रोज राणाको चलचित्र “मेरो पैसा खै”मा अभिनय गर्न बलिउडका ख्याति प्राप्त पुराना अभिनेत्री जुही चावला आउने चर्चा चलेको थियो तर केही कारणवश उनी आएनन् ।

यस्तै बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादव पनि केही समय अगाडी एउटा चलचित्रको सुटिंंगको क्रममा नेपाल आएका थिए । नयाँ चलचित्रका यी उदाहरणहरु बाहेक नेपाली चलचित्रको ईतिहास खोतल्ने हो भने “माइतीघर” त्यस्तो चलचित्र हो जसमा भारतीय चलचित्र जगतमा त्यत्तिबेला कि ख्यातीप्राप्त मानिएकी नायिका माला सिन्हाले प्रमुख नायिकाको भुमिका निर्वाह गरेकी थिइन् ।

वि.सं २०२३ मा प्रदर्शित यो चलचित्र पछि अभिनेत्री माला सिन्हाले सोही चलचित्रका नायक सि.पी. लोहनीसित विवाह गरीन् । तर उनले त्यसपछि अरु कुनै नेपाली चलचित्रमा अभिनय गरेनन् । र “माइतीघर”मा माला सिन्हाको प्रमुख भुमिका रहेको थियो भने यो चलचित्रमा त्यतिबेलाका ख्याति प्राप्त भारतीय अभिनेताहरु सुनिल दत्त र राजेन्द्र नाथले पनि अभिनय गरेका थिए । यसरी “माइतीघर” बलिउडका स्टारहरुको अभिनय रहेको पहिलो नेपाली चलचित्र बन्न सफल भयो ।

त्यसैगरी एक समय नेपालमा विदेशी र स्वदेशी संयुक्त लगानीमा पनि केही चलचित्रहरु बनेका थिए । ती चलचित्रहरु नेपाली र विदेशी दुबै भाषामा बन्ने गरेका थिए । त्यस्ता चलचित्रहरुमा पनि विदेशी नायिकाहरुले नेपाली चलचित्रहरुमा काम गरेका छन् । ती चलचित्रहरु मध्ये एक चलचित्र हो “हामी एक हौं” । यस चलचित्रमा बलिउडका अभिनेत्री सल्मा आगाले पनि अभिनय गरेकी थिइन् ।

त्यस्तै गरी भारतसँगको संयुक्त लगानीमा बनेको चलचित्र “पञ्चवटी”मा भारतकी ख्याति प्राप्त अभिनेत्री दिप्ती नवलले पनि अभिनय गरेकी थिइन् । नेपाली चलचित्रमा भारतीय कलाकारहरु बढी मात्रामा प्रवेश गराउने श्रेय अग्रज चलचित्रकर्मी तुलसी घिमिरेलाई जान्छ । उनको निर्देशनमा बनेको पहिलो चलचित्र “बाँसुरी” कि नायिका रजनी शर्मा भारतीय नागरीक हुन् ।

यही “बाँसुरी” मा अभिनय गरेका राकेश पाण्डे पनि हिन्दि चलचित्रहरु खेलेका अभिनेता हुन् । त्यत्तिबेला नै हिन्दी र बंगाली चलचित्रमा अभिनय गरीसकेकी नायिका रजनी शर्माले पछि प्रताप सुब्बाको “मशाल”मा पनि काम गरीन् । विदेशी  भुमिबाट नेपाली चलचित्रमा प्रवेश गरेका नायिकाहरु मध्ये धेरैको यात्रा दोस्रो चलचित्र सम्म पुगेको देखिंदैन । “मशाल” मा अभिनय गरेका अभिनेता डैनी डेंग्जोग्पा यद्यपि नेपाली यद्यपि नेपाली मूलको नै भए पनि त्यति बेला हिन्दी चलचित्रहरु खेलिसकेका अभिनेता हुन् ।

डैनीले पछि “साइनो”मा पनि प्रमुख भुमिकामा अभिनय गरे । तुलसी घिमिरे कै “दुई थोपा आँसु” कि नायिका अनुराधा सावन्त अनि “अन्याय” कि मीरा माधुरीलाई पनि यसको उदाहरणका रुपमा लिन सकिन्छ । यसरी नै “चाँदनी शिम्पीत जा” नामक मराठी र “गोदाम” नामक हिन्दी चलचित्रमा अभिनय गरी सकेपछि नेपाली चलचित्रमा प्रवेश गरेकी तृप्ती नाडकरले भने कुसुमे रुमाल, सम्झना, साइनो, कोसेली र लाहुरे गरी पाँच वटा चलचित्रमा नायिकाको भुमिका निर्वाह गरेर नेपाली चलचित्र प्रति आफ्नो मोह प्रदर्शन गरीन् ।

त्यसपछि उदित नारायण झाको संग्लग्नतामा निर्माण भएको “पिरती” मा नायिकाको भुमिका प्रस्ताव राखिंदा आफु गर्भवती भएकोले तृप्तीले त्यो चलचित्र खेल्न पाएनन् । त्यसपछि करीब बीस वर्ष जति घर गृहस्थी सम्भाल्न मै व्यस्त रहेकी तृप्तीले करीब सात वर्ष जति अगाडि “आमाको काख” बाट चरित्र अभिनेत्रीका रुपमा आफ्नो अभिनय गरीन् । यसरी विदेशबाट आएका नायिकाहरु मध्ये तृप्ती नाडकरले मात्रै नेपाली चलचित्र जगतलाई आफ्नो कर्म भुमिको रुपमा अङ्गालेको देखिन्छ । नेपाली चलचित्रहरुमा विशेष गरी भारतमा रहँदै आएका नेपाली कलाकारहरुले अभिनय गर्ने गरेका छन्।

“जन्म जन्म” शिर्षकको चलचित्रमा अभिनेता धीरेन शाक्यसँग नायिका भई खेलेकी श्वेता गौतम पनि भारतीय नागरीक नै हुन् । यस्तै गरी भोजपुरी  र नेपाली गरी दुई भाषामा बनेको “त्रिनेत्र” मा अभिनय गर्ने नायिका श्वेता तिवारी त धेरै हिन्दी टेलिसिरीयलहरु र चलचित्रहरुमा अभिनय गरीसकेकी अभिनेत्री हुन् । श्वेता तिवारी विशेषगरी हिन्दी धारावाहिक “कसौटी जिन्दगी की” मा प्रेरणाका रुपमा चिनिन्छन् ।

नेपाली चलचित्रमा अभिनय गरेका अन्य अभिनेताहरु मध्ये दीपक तिजोरीले “जीवनदान”मा र मामिकले “हाम्रो सानो घर होला”मा प्रमुख नायककै रुपमा अभिनय गरेका छन् । यसरी हेर्दा नेपालमा अभिनय गर्नेहरुको अभाव भएकोले भारतबाट कलाकार आयात गरिएको नभए पनि कसैले आकर्षणको लागि त कसैले भुमिकाको माग अनुसार विदेशी नायिका आफ्नो चलचित्रमा राखेको बताउने गरेका छन् ।

केही हिन्दी चलचित्रहरुमा अभिनय गरी सकेकी मोनिका बेदीलाई पनि “परिचय” शिर्षकको नेपाली चलचित्रमा नायिकाको रुपमा खेलाउन र प्रिटी झिंगयानीलाई “हाम्रो मिलन कहिले हुन्छ”को एउटा गीतको नृत्यमा प्रस्तत गर्नुको प्रमुख कारण भनेको आकर्षणको लागि मात्र हो । अन्यथा त्यो भुमिकामा नेपालका कुनै पनि अभिनेत्रीले अभिनय गर्दा पनि केही फरक पर्ने दखिंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *