अन्तर्राष्ट्रिय अवार्डमा नेपाली चलचित्र…..

बिजयरत्न तुलाधर.  “भाग्यले बाँचेकाहरु”शिर्षकको डकुमेण्ट्री एउटा अहिले सर्वत्र चर्चाको विषय बनिरहेको छ । यो डकुमेण्ट्रीका निर्देशक गणेश पाण्डे हुनु हुन्छ । वि.सं. २०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा भत्किएका घरहरुको भग्नावशेषबाट जिवितै उद्दार गरिएकाहरुको कथा र व्यथालाई समेटेर बनाएको यो “भाग्यले बाँचेकाहरु” डकुमेण्ट्रीले देश र विदेशमा प्रसंशा पाएकोमात्र नभई थुप्रै अवार्डहरु समेत जित्न सफल भईसकेको छ ।

नेपालमा नेपाली चलचित्र निर्माण हुन थालेको आधा शताव्दी पार गरीसकेको वर्तमान परिप्रेक्ष्यमा कथानक भनिने चलचित्रहरुले अन्तर्राष्ट्रिय स्तरका पुरस्कारहरु हांसिल गरेका उदाहरणहरु थोरै छन् तर डकुमेण्ट्री र शर्ट फिल्महरु भने अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरुमा एक पछि अर्को अवार्ड थाप्न सफल भईरहेका छन् । तर यसरी थापिएका पुरस्कारहरुको संख्याकति छ ? र कसकसले अन्तर्राष्ट्रिय स्तरका पुरस्कारहरु जितेका छन् भन्ने कुराको अभिलेख कतै भेटिंदैन ।

कुनै पनि नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिएको भनेको “कुमारी” नै पहिलो हो । वि.सं. २०३४ सालमा प्रदर्शित यो चलचित्र नेपालको पहिलो रंगीन चलचित्र हो भने यसको निर्देशक प्रेम वहादुर बस्न्यात हुनु हुन्छ  र यसमा चैत्य देवी सिंहले शिर्षक भुमिकानिर्वाह गर्नु भएको छ ।

तत्कालिन सोभियत संघ (रुस) मा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भएको “कुमारी” चलचित्रले “वैदेशिक पर्यटन पवद्र्दन पुरस्कार” जित्न सफल भएको थियो । यस हिसाबमा भन्ने हो भने अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवमा भाग लिएकोमात्र नभई पुरस्कार समेत हासिल गर्न सफल भएको पहिलो नेपाली चलचित्र“कुमारी” साबित भएको छ । यस पछि कुन चलचित्र महोत्सवमा के कति नेपाली  चलचित्रले भाग  लिए भन्ने कुरा अहिले अध्ययन र अनुसन्धानगर्न जरुरी भई सकेको छ ।

चलचित्र जगतको विश्वप्रसिद्घ पुरस्कारको रुपमा लिइने “ओस्कार अवार्ड” मा पहिलो पटक नेपाल सहभागी भएको भनेको सन् १९९९ मा“क्याराभान” बाट हो । नेपालको दुर्गम पहाडी भेगका मह शिकारीहरुको कथामा“द हनी हण्टर” जस्तो अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाउन सफल भएको डकुमेण्ट्री बनाएका निर्देशक  एरिक भ्यालीले निर्देशन गरेको “क्याराभान”को निर्माण नेपाल र फ्रान्स मिलेर गरेको थियो भने ओस्कार अवार्डको विदेशी चलचित्रहरु बीच हुने प्रतिस्पर्धामा सहभागी भएर “टप फाइभ नोमिनेशन”मा समेत पर्न सफल भएको थियो । यसरी “क्याराभान” ले नेपालको पहिलो ओस्कार प्रयासलाई सुखद स्मरणको रुपम ाजिवित गराएको छ  भने त्यस पछिका वर्षहरुमा नेपालको प्रतिनिधीत्व गर्दै  ओस्कारमा सहभागी भएका चलचित्रहरु मुकुन्डो(सन् २०००), मुना मदन (२००३), बसाई  (२००६), सुनगाभा(२०१३), झोला (२०१४) र टलकजंग भर्सेस टुल्के (२०१५) ले कुनै पनि स्थान ओगट्न सकेन । र केही वर्ष त नेपालले चलचित्र समेत पठाउन सकेन ।

कथानक चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा कुनै फड्को मार्नै सकेको छैन भन्ने चर्चा चलिरहंदा“भाग्यले बाँचेकाहरु” डकुमेण्ट्रीले सर्वश्रेष्ठ डकुमेण्ट्रीको पुरस्कार हासिल गर्न सफल भएको बेलायतमा आयोजित प्रथम एडिबरा नेपाल फिल्म फेस्टिभलमा निर्देशक सबिन बास्तोलाको “सुनपानी” ले सर्वश्रेष्ठ कथानक चलचित्रको पुरस्कार जितेर किर्तिमान कायम गरेको छ भने कमल भट्टको “चोख्यानी” ले सर्वश्रेष्ठ लघु चलचित्रको पुरस्कार जित्न सफल भएको छ ।

विदेशी भुमिमा नेपाली चलचित्रहरु बीच प्रतिस्पर्धा भएको एडिबरा नेपाल फिल्म फेस्टिभल जस्तै क्यानाडाको टोरण्टोमापनि टोरण्टो नेपाल फिल्म फेस्टिभलहुँदै आईरहेको छ र तीमहोत्सवमा पुरस्कृत हुने भनेको पनि नेपाली चलचित्र नै हो । नेपाली चलचित्रबीच हुने प्रतिस्पर्धा भन्दाभिन्न रहेर अन्तर्राष्ट्रिय चलचित्रहरु समेतसंग प्रतिस्पर्धा गरेर पुरस्कार जित्न सफल कथानक चलचित्रमा अहिले सवैभन्दा प्रसंशित र चर्चित भनेको “कालो पोथी”हो ।

युवा निर्देशक मीनबहादुर भामको यो चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागीहुने अवसर पाएको छ भने संसार मै ख्यातिकमाएको भेनिस फिल्म महोत्सवको “समीक्षक सप्तााह” (कृटिक्स विक)मा छानिएको मात्र नभई विभिन्न देशका नौ वटा अन्य चलचित्रहरुलाई पछाडि पार्दै यो समूहमा सर्वश्रेष्ठ चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।

कुनै पनि कथानक नेपाली चलचित्रले जितेको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार सम्भवतः यो नै पहिलो हो । यसभन्दा अघि निर्देशक नबीन सुव्बाको “नुमाफुङ” पनि अन्तर्राष्ट्रिय रुपमा प्रसंशा कमाउन सफल भएको थियो । “नुमाफुङ” ले भिजुयल एशियन फिल्म फेस्टिभल २००३ मा अडियन्स अवार्ड जितेको थियो भने सर्वश्रेष्ठ चलचित्रकोलागि दिइने गोल्डेन ह्वील अवार्डको नोमिनेशनमा पर्न सफल भएको थियो । नेपाल र जर्मनीको संयुृक्त लगानीमा निर्माण गरिएको “कालो पोथी” ले निर्माण शुरु गर्नु पूर्व स्वीस सरकारले आयोजना गरेको पटकथा प्रतिस्पर्धामा उत्कृष्ट ठहरिंदै साठी हजार डलर पुरस्कारको रुपमा हासिल गरेका थिए भने यस चलचित्रका छायाँकार जर्मन नागरीक अजीज जाम्बाकियेभले बर्लिन फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ छायाँकारको पुरस्कार जितेका थिए ।

“कालो पोथी”विभिन्न अन्तर्राष्ट्रिय चलचित्र   महोत्सवमा सहभागी भई प्रसंशा र पुरस्कार बटुल्न सफल चलचित्र हो भने यसका निर्देशक मीनबहादुर भामले यस भन्दा अघि “बाँसुल्ली”शिर्षकको चलचित्रबाट पनि अन्तर्राष्ट्रिय पुरस्कार जित्नु भएको कुरा यहाँ उल्लेखनीय हुन आउँछ । कथानक चलचित्रतर्फ अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफलभएको अर्को एउटा चलचित्रभनेको “डाइंग क्याण्डल” पनिहो ।

निर्देशक नरेश कुमार के.सी.को यो चलचित्रले छैंठौं क्वीन्स वल्र्ड फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ छायाँकारको पुरस्कार जितेको थियो । यस चलचित्रका छाँयाकार रबिन आर्चाय र दिपंकर सिक्दर हुनु हुन्छ भने सिक्दर भारतीय नागरीक हुनु हुन्छ । उक्त महोत्सवमा यो चलचित्र सर्वश्रेष्ठ अभिनेत्री (सिर्जना सुब्बा), सर्वश्रेष्ठ पटकथा र सर्वश्रेष्ठ छायाँकन गरी तीन विधामा मनोनयनमा परेका थिए भने छायाँकन तर्फको अवार्ड जित्न सफल भएको थियो । सौगात मल्ल र अर्पण थापाको प्रमुख भुमिका रहेको “डाइंग कयाण्डल” पनि धेरै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागीता जनाई रहेको चलचित्र हो ।

अन्तर्राष्ट्रिय पुरस्कार जितेका नेपाली चलचित्रहरु मथि कलम चलाउँदा “सुनकली”शिर्षकको डकुमेण्ट्री उल्लेखनीय हुन आउँछ । नेपालको विकट जिल्ला मानिने मुगु कि एक किशोरी सुनकलीको फूटबल खेल प्रतिको आशक्तिलाई जीवन्त रुपमा पर्दामा उतारिएको “सुनकली” ले नेपालमा आयोजित काठमाण्डौ इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ) मा बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड र जुरी अवार्ड गरी दुई वटा पुरस्कार जितेपछि चर्चामा आएको थियो ।

हाल सम्ममा “सुनकली” ले पन्ध्र वटा विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जिती सकेको छ । तीमध्ये माउण्टेन फिल्म फेस्टिभल डोम्जालेमा जुरी अवार्ड, तेत्तीसों बि बि भी ए माउण्टेन फिल्म अवार्डमा बेस्ट फिल्म, माउण्टेन लाइफबर्ग फिल्म फेस्टिभलमा बेस्ट फिल्म, बिल्बाओ मेन्दी फिल्म फेस्टिभलमा बेस्ट कल्चर एण्ड नेचर फिल्म अवार्ड जित्न सफल भएको छ भने स्पोर्ट्स मिडिया पर्ल अवार्डको डकुमेण्ट्री विधामा तेश्रो स्थान हासिल गर्न सफल भएको थियो ।

यसरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल नेपालको अर्को एउटा चलचित्र“लिचेज”हो । अंग्रेजी भाषाको यो चलचित्रका निर्देशन ललित भुसाल हुनु हुन्छ । हाल बेलायतको वेस्ट मिडल्याण्डमा बसोबास गर्दै आउनु भएका ललित भुसालको “लिचेज” (जुकाहरु) ले इनटरनेशनल फिल्म फेस्टिभल अफ फ्यामिली , पब्लिक सर्भिस, एण्टी ड्रग एब्युज एण्ड ट्राफिकिंग, जकार्ता इण्डोनेशिया २०१५ मा अवार्ड अफ मेरीट हासिलगर्न सफल भएको थियो भने निर्देशक निश्चल पौडेलको “रिंगटा” शिर्षकको एउटा लघु चलचित्र अनि सुशन प्रजापतकिो “लाज” जस्ता केही अरु लघु चलचित्र र डकुमेण्ट्रीहरु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा प्रसंशा र पुरस्कार पाउन सफलभई रहेका छन् ।

यस्तै नेपाली चलचित्रकर्मीहरुले व्यक्तिगत रुपमा पनि अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफलभई रहेका छन् । यसरी पुरस्कार जित्ने कलाकारमा रेश मरहट्ठा, जसवन्त देव श्रेष्ठ र सुनिल थापा प्रमुख हुनु हुन्छ । खलअभिनयकालागि नेपालमामात्र नभई भारतमा समेत ख्याती कमाउनु भएका सुनिल थापाले गतवर्ष अमेरिकामा आयोजित प्रतिष्ठित फोग अवार्डमा विश्वप्रसिद्घ कलाकारहरु ज्याकी च्यान, मार्टिन शीन र बलिउडका ख्यातिप्राप्त संगीतकार बप्पी लहरीको साथमा लाइफटाइम अचिभमेंट अवार्ड द्वारा सम्मानित गरिएको थियो ।

यसरी अन्तर्राष्ट्रिय स्तरमा पुरस्कार र प्रसंशा कमाएका चलचित्र र चलचित्रकर्मीको बारेमा चर्चा गर्दा दुई बर्ष अगाडि अभिनेत्री गरिमा पन्तले भारतमा  आयोजना गरिएको साउथ एशियन फिल्म फेस्टिभलमा सर्व श्रेष्ठ अभिनेत्रीको पुरस्कार जित्नु भएको कुरा स्मरणीय हुन आउँछ भने सात बर्षीय चलचित्रनिर्देशक सौगात विष्टले विश्वको सबैभन्दा कम उमेरका चलचित्र निर्देशकका रुपमा“गिनिज बुक अफ वल्र्ड रेकर्ड्स”मा नाम लेखाउन सफल भएको कुरालाई गौरवको कुरा नै मान्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *