देशभक्त गीतकार सैनिक कैलाश गुरुङ्ग…….

बिजयरत्न  तुलाधर, नेपाली सेनामा महासेनानीको पदमा रही पाइलटको रुपमा देशको सेवा गर्दै आएका थिए कैलाश गुरुङ्ग । सैनिक सेवामा रहेर कर्म अगाडि बढाई रहेका थिए कैलाश गुरुङ्ग एक कोमल मनको सेना थिए भने उनी एक सशक्त गीतकार पनि थिए ।

वि.सं.२०२७ सालको पुष १४ गतेका दिन भोजपुरको छिनामुखमा पिता नरबहादुर गुरुङ्ग र आमा गणेशकुमारी गुरुङ्गको कोखबाट जन्मेका कैलाश गुरुङ्ग विद्यालय तहमा पढ्दै गर्दादेखि नै सिर्जनशील कर्ममा लागेका सर्जक थिए । २०४६ सालमा २१ वर्षको उमेरमा सेनामा प्रवेश गरेपछि उनले अमेरिकाको विश्वविद्यालयबाट पाईलटको ट्रेनिङ्ग हासिल गरेका थिए । वास्तवमा उनले सामान्य प्रशासनमा स्नात्तकोत्तर हासिल गरेका थिए भने पछिमात्रै उडड्यन विधामा आफ्नो पाइला अगाडि बढाएका थिए ।

उनको विवाह सावित्री राणासँग भएको थियो । उनकी धर्मपत्नी सावित्री नेपाली सेनाका लेफ्टिनेण्ट कर्नेल हुन् । उनीहरुका दुई छोरीहरु छन् , विभुति र काबेरी । उनको आफ्ना दुई दाजुहरु र तीन दीदिबहिनीहरु छन् । उनी आफ्नो २८ वर्षीय सैन्य सेवामा उनी संधै कर्मठ र साहसी सेनाका रुपमा कार्यरत रहे । करीब तीन दशकको सैन्य सेवामा उनले नेपाली सेनाको हेलिकोप्टर र स्काईट्रक उडाउने गरेका थिए ।

२०७२ सालको विनाशकारी भुकम्पको बेला पनि पीडितहरुको उद्दार कार्यमा संधै तत्परताका साथ लागेका सैनिक अधिकारी संधै उनको मातहतका सैनिकहरुबाट प्रशंसित हुँदै आएका सैनिक अधिकारी थिए । यसरी आफ्नो सैन्य कर्ममा दत्तचित्त भई लागिपरेका सैनिक अधिकृत एक कोमल मनको गीतकार पनि हुन सक्छ भनि पत्याउने थोरैमात्र थिए तर वास्तविकता भने त्यही नै थियो । उनी एक सशक्त गीतकार थिए । उनले आफ्नो एकल रचना रहेको “रक्षकको गीत” शिर्षकको एउटा गीति एल्बम पनि निकालेका थिए । उनका चर्चित गीतहरु मध्ये “लार्खौलाख ताराबीच थियौ ध्रुबतारा छोडी गयौ हाम्रोसाथ रुवाइ साथी सारा” ,  “वीरता गौरव अनुशासन समर्पण राष्ट्रको भक्तिमा”बोलका गीतहरु पर्दथ्यो । र उनी आफैले रचना गीतको बोल जस्तै उनले साथी सारालाई रुवाएर गए ।

आफुलाई एक कर्मठ सेनाको रुपमा लिने गरेका कैलाश गुरुङ्गले एक गीतकारका रुपमा पनि आफ्नो देश प्रतिको माया दर्शाउन कहिल्यै पछि परेनन् । उनका प्रत्येक गीत देशभक्तिको भावनाले ओतप्रोत रहेको पाईन्छ । यतिमात्र नभई उनले आफ्नो फेसबुक आइडि समेत धतीपुत्र र धर्तीरक्षक राखेर धती प्रतिको आफ्नो आदर व्यक्त गरेका थिए । उनले विशेष गरी सैन्य सम्बन्धी गीतकारका रुपमा आफ्नो पहिचान बनाएका थिए ।

यसै क्रममा उनले नेपाली सेनाको गरुड दल , कालिभञ्जन गण र खडग दलको गणगाण समेत रचेका थिए । सैन्य भावनालाई गीतमा राम्ररी पिरोल्न सक्ने भएकाले उनले सेनामा असाध्यै लोकप्रिय कमाएका थिए । उसोत उनले सैन्य गानमात्र नभई आधुनिक गीतहरुको पनि रचना गरेका थिए । मायाप्रेम , पर्व र राष्ट्रभावका गीतहरुको समेत रचना गरेका कैलाश गुरुङ्ग आफ्नो जातिय संस्कृति प्रति अथाह सदभाव राख्दथे र आफ्नो यही भावनालाई उनले गुरुङ्ग जातिको प्रमुख पर्व ल्होछारसँग एक गीत “विछोडको सन्तापले बनेको घाउलाइृ देउ ओखती”बाट अभिव्यक्त समेत गरेका थिए ।

देश द्वन्दकालमा छँदा उनी भित्रको छटपटी गीत मार्फत प्रस्फुटित भएको पाउन सकिन्छ । विशेष गरी द्वन्दकालका विभिन्न घटनाहरुबाट भावविह्वल भएर उनले रचना गरेको “विछोडको पीडा”बोलको गीतलाई त्यतिबेला धेरैको मन जित्न सफल भएको थियो । आफ्नो माटो प्रति अगाध माया राख्ने गरेका कैलाश गुरुङ्गले आफ्नो जन्मभुमि भोजपुरको छिनामुखमा पहिलो गाडि पु-याएर माटो प्रतिको माया व्यक्त गरेका थिए । एक देशभक्त युवा एक सैनिक र एक सर्जकका रुपमा संधै आफुलाई सकृय राख्दै आएका कैलाश गुरुङ्ग एक सञ्चार कर्मि पनि थिए भन्ने कुरा धेरै कमलाईमात्र थाहा थियो । उनी सैन्य वायु सेवा निर्देशनालयले प्रकाशन गर्ने गरेको वार्षिक पत्रिकाका प्रधान सम्पादक पनि थिए ।

यसरी विविध विधामा आफ्नो दक्षता पोखेर गएका कैलाश गुरुङ्गक गत जेठ महिनाको १६ गते भएको एक हवाइ दुर्घटनामा परेर निधन भयो । त्यो दिन उनी सैन्य सेवाको खाद्यान्न ढुवानी गर्ने क्रममा हुम्लाको सिमीकोट पुगेका थिए । तर सिमीकोटको मौसम खराब देखिए पछि उनले आफ्नो विमानलाई बाजुराको कोल्टि तर्फ मोडे । र त्यहाँ धावनमार्गमा विमान दुर्घटना हुँदा उनको निधन हुन पुग्यो । यसरी देशले आफ्नो एक सच्चा भक्त र सर्जकलाई गुमाए ।  “”

Leave a Reply

Your email address will not be published. Required fields are marked *