मोहनी लगाएर गएकी गीतकार कुसुम गजमेर …..

बिजयरत्न तुलाधर ,  नेपाली गीत संगीत क्षेत्रमा महिला गीतकारको संख्या थोरै छन् । त्यी मध्ये पनि चलचित्रको क्षेत्रमा त हातैमा गन्न पुग्ने संख्याका मात्र महिला गीतकारहरु छन् भने ती मध्क्ये पनि सबैभन्दा चर्चित र ख्याती कमाएको नाम भनेको कुसुम गजमेरको हो । चालिसको दशक आरम्भसँगै नेपाली चलचित्र आकाशमा गीतकारका रुपमा उदाएकी कुसुम गजमेर नेपालका ख्याति प्राप्त संगीतकार रनजित गजमेरकी धर्मपत्नी हुन् भने विख्यात चलचित्रकर्मी तुलसी घिमिरेकी सासु आमा हुन् अर्थात भारती घिमिरेकी आमा हुन् ।

नेपाली चलचित्रमा लोकप्रिय मानिएका धेरै गीतहरुका गीतकार कुसुम गजमेरको जन्म वि.सं. २००२ साल असोज महिनामा भारतको दार्जिलिंगमा भएको हो । “चिनो” चलचित्रको कालजयी गीत “मोहनी लाग्ला है” का सर्जक पनि कुसुम गजमेर नै हुन् भने तुलसी घिमिरे र शम्भु प्रधान जस्ता सिद्धहस्त चलचित्रकर्मीहरुले बनाएका अधिकांश चलचित्रमा उनकै गीत रहेको पाईन्छ । चलचित्रमा कुसुम गजमेरको गीत रचना यात्रा “सम्झना”बाट आरम्भ भएको हो ।

उनले सबैभन्दा पहिला रेकर्ड गराएको गीत भनेको गायिका दिपा नारायण झाको स्वर रहेको “गहिरो गहिरो सागर जस्तो” बोलको गीत हो । जुन गीत पछि चलचित्र “सम्झना”मा प्रयोग गरिएको थियो । निर्देशक शम्भु प्रधानको यो चलचित्र गीत संगीत कै कारण बढी चर्चित भएको थियो । यस चलचित्रका गीतहरु उकालीमा पछि पछि ओरालीमा अघि अघि, के सोचें मैले के भयो अहिले जस्ता गीतहरु अहिले पनि स्रोताहरुले सम्झिने गरेका लोकप्रिय गीतहरु हुन् ।

तुलसी घिमिरेलाई नेपाली चलचित्र जगतमा एक सशक्त निर्देशकका रुपमा स्थापित गराउन सफल भएको “कुसुमे रुमाल”का भुली गए सम्झनालाई कुसुमे रुमाल, मायाको बारीमा प्रीतिको फूल जस्ता कालजयी गीतहरुका रचनाकार पनि कुसुम गजमेर नै हुन् । तुल्सी घिमिरेको अति प्रसंशित चलचित्र “दक्षिणा”को “यो देहलाई कसरी सम्झाई बुझाउँ” बोलको गीतमा स्वर सम्राट नारायण गोपालले स्वर प्रदान गरेको थिए । विशेषगरी स्वर सम्राटलाई आफुले गाउने गीतका बोलहरु छनौट गर्दा एकदमै सतर्कता अपनाउने गायकका रुपमा लिईन्छ । त्यस्ता गायकले पनि कुसुम गजमेरका शब्द रचना प्रति कहिल्यै कुनै शंकाको दृष्टि राखेनन् । यो दृष्टान्तले कुुसुम गजमेर एक सशक्त प्रतिभाका धनी गीतकारका रुपमा पुष्टि गर्दछ ।

गीतकार कुसुम गजमेरले आफ्नो जीवनकालमा लेखेका सबै गीतहरुमा उनकै श्रीमान रनजित गजमेरको संगीत रहेको छ । कुसुम गजमेरको गीत र रनजित गजमेरको संगीत भनेको एकापसमा अन्योन्याश्रित सांगितिक सृजनाको रुपमा लिईन्छ । रनजित गजमेरलाई त कुसुम गजमेर कै शब्द रचना रहेका गीतहरुमा संगीत सृजना गर्ने बानी नै परेको थियो भने यसै सन्दर्भमा चलचित्र उद्योगमा चलेको एउटा चर्चा अनुसार नेपाली चलचित्र जगतका ख्याति प्राप्त निर्देशक नीर शाहले “बासुदेव”को गीत बनाउँदा संगीतकारका रुपमा रनजित गजमेरलाई नै अनुबन्धित गरे । नीर शाह आफै पनि एक सशक्त गीतकार हुन् । उनले “बासुदेव”को लागि आफैले गीत लेखेका थिए ।

निर्माता र निर्देशक समेत रहेका नीर शाहले लेखेको गीतमा संगीत भर्दिन भने रनजित गजमेरले भन्न सक्ने कुरै भएन तर गीत रेकर्डिंगको बेला भने आफ्नै श्रीमतीको रचनामा संगीत सृजना गर्ने बानी परेका संगीतकार गजमेरलाई अलि असजिलो भएको थियो भन्ने कुरा त्यतिबेला ठूलो चर्चाको विषय बनेको थियो । विशेषगरी त्यस चलचित्रको एउटा गीतमा प्रयुक्त “क्षितिज” भन्ने शब्दको अर्थ पहिल्याउन नसकेर त्यतिबेला रनजित गजमेरलाई गाह्रो भएको थियो भनिन्छ ।

यसरी एक अर्कामा समर्पित सांगितिक दम्पत्तिले नेपाली चलचित्र आकाशमा असंख्य लोकप्रिय गीतहरु दिएका छन् । चाहे त्यो “दर्पण छाँया” चलचित्रको “लहनाले जुरायो कि बहानाले” होस् वा चाहे “सपना” चलचित्रको “सुन्दरीको मनमा बस्ने को होला” गीत होस्, यो सांगितिक दम्पत्तिको अनुपम गीतहरुका उदाहरणको रुपमा लिन सकिने गीतहरु हुन् । “लाहुरे” को “चिया बारीमा”, “चिनो”को “बतारैले उडाई लग्यो”, “लाहुरे”को “वीरताको चिनो” लगायतका थुपै्र गीतहरु नेपाली चलचित्र जगतका सदाबहार गीतका रुपमा स्थापित छन् ।

धेरै जसो गीतकारहरु आफुले गीत लेखि दिए पछि फेरी फर्केर त्यसबारे सोच्ने गर्दैनन् तर गीतकार कुसुम गजमेरको आफ्नै श्रीमान रनजित गजमेर एक संगीतकार भएकोले गर्दा उनले आफ्नो प्रत्येक गीतको रेकर्डिङ्गमा आफु पनि बस्ने अवसर पाएकी थिइन् । यसले गर्दा रेकडिंङ्गको क्रममा गीतका शब्दहरु परिमार्जन गर्ने अवसर समेत उनले पाउने गर्थिन् । यसले गर्दा उनका गीतहरु संधैं नै अब्बल साबित भएको पाइन्छ ।

भारतकी विख्यात गायिका आशा भोसलेलाई कुसुम गजमेर आफ्नो प्रिय गायिका मान्थे भने “साइनो”को “फेरी आयो त्यो कालो रात” लगायत “झझल्को लिएर आएछ सावन, दियो बाली, माया त माया हो, मोहनी लाग्ला है, के सोचें मैले, यति धेरै माया दियौ” आदि जस्ता कुसुम गजमेरका कैयौं गीतहरुमा आशा भोसलेको स्वर रहेको छ । साह्रै सरल स्वभाव कि धनी कुसुम गजमेरले नेपाली चलचित्रमा गीत लेखे बापट कसैसँग कहिल्यै कुनै पैसा मागिनन्, बरु उल्टै सुमधुर रचनाको उपहार दिएर गईन् । विगत केही समयदेखि कलेजो रोगले थलिएकी मूर्धन्य गीतकार कुसुम गजमेरको २०७४ साल जेठ १८ गते मुम्बईमा निधन भयो । उनी यो संसारबाट विदा भए पनि उनका सदाबहार गीतहरुले उनी सँधैं संगीतिक माहौलको आकाशमा चम्कि रहनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *