दुर्लभ महाअवसान गरेका रंगकर्मी विष्णु भक्त फुँयाल….

विजयरत्न तुलाधर,  अभिनय कर्ममा लागेकाहरुले प्रायःजसो भन्ने गर्छन् कि अभियान गर्दा गर्दै मृत्यु वरण पाए हुन्थ्यो । तर त्यस्तो संयोग जुरेको त्यति सुनिएको छैन । यस्तो विरलै जुरिने संयोग रंगकर्मी विष्णुभक्त फुँयाललाई जु-यो ।

पुष १९ गते मंगलबारको दिन काठमाण्डौंको राष्ट्रिय नाचघरमा मञ्चन भईरहेको “याज्ञवल्क्य” नाटकमा त्रेतायुगका राजा जनकको भुमिकामा अभिनय गर्दा गर्दै मञ्च मै अभिनय गरी रहेका सह अभिनेताको काँधमा उनी ढल्न पुगे । उनको शरीर चलमलाउन छोडेको आभाष भए पछि चलिरहेको नाटक रोकियो । त्यहींबाट अस्पताल पु-याईयो ।

अस्पतालमा केही छिनको उपचार प्रयास पछि उनलाई मृत घोषित गरियो । यस्तो दुर्लभ संयोग  जुरेको निधनले उनको रङ्गकर्म र रङ्गकर्म प्रतिको उनको समर्पणलाई अमर बनायो । यसरी चिरनिन्द्रामा लिन हुन पुगेका विष्णु भक्त फुँयाल अब चिरस्मरणीय बनेका छन् । उनको संस्मरण सदैव रही रहने छ । मृदुभाषी स्वभाव कै कारण सबैका प्रिय पात्र बनेका विष्णुभक्त फुँयालले वरण गरेको मृत्युले उनलाई कालजयी बनाएको छ ।

१९९४ सालभदौ २३ गते भक्तपुरको बागेश्वरीमा पिता कुल प्रसाद फुँयाल र आमा महामाया फुँयालको कोखबाट जन्मेका विष्णुभक्त फुँयालको परिवारको आर्थिक स्थीति त्यति राम्रो थिएन । त्यसैले घर व्यवहार धान्न उनले किशोर अवस्था प्रवेश गर्ना साथ जागिर खानु परेको थियो । त्यतिबेला जमल कान्तिपथ केशर महल नजिकैको बहादुर भवनमा रोयल होटेल भनिने एउटा भव्य होटेल थियो ।

त्यही होटेलमा विष्णृु भक्त फुँयालले वेटरको जागिर खाए । यसरी वेटर जागिर खानु भन्दा अगाडि रोजगारीको खोजिमा उनी भारत पनि पुगे । तर त्यहाँ उनको मन रमेन । त्यहाँबाट नेपाल नै फर्केर रोयल होटेलमा काम गर्न थाले । त्यही रोयल होटेलका कर्मचारीहरु र ललितपुरको कुपण्डोलतिरका केहि उत्साही युवाहरु मिलेर गाईजात्राको अवसरमा एउटा नेपालभाषाको नाटक “कर्मया भोग” (कर्मको भोग) गर्ने योजना बुन्दै गरेको सुनेपछि अभिनयमा रुची भएका विष्णु भक्त फुुँयाल पनि सो समूहमा सम्मिलित हुन पुगे ।

विष्णु भत्त फुँयाल आफैले लेखेको संस्मरणमा समेत त्यो गाई जात्राको अवसर भनेर लेखिएको भेटिए पनि काठमाण्डौं उपत्यकामा नेवार समुदायमा गाईजात्राको अवसरमा नभई ईन्द्रजात्राको अवसरमा यसरी दबु प्याखँ भनिने सडक नाटक देखाउने चलन रहँदै आएको कुरा यहाँ उल्लेखनीय हुन आउँछ । यसरी २०१९ सालमा पहिलो पटक मञ्चमा अभिनय गरी आफ्नो कलायात्रा शुरु गरेका रङ्गकर्मि विष्णुभक्त फुँयाल आफ्नो जीवनको अन्तिम् क्षणसम्म पनि अभिनयमा नै तल्लिन रहे ।

काठमाण्डौं उपत्यकामा देखाइने त्यस्ता दबु प्याखंहरुमा केटीको भुमिका पनि केटाले नै गर्नु पर्दथ्यो । यसरी केटीको भुमिकामा अभिनय गरेकाहरु मध्ये गोल्डेन भ्वइस अफ नेपाल भनेर चिनिएका प्रेमध्वज प्रधान र मास्टर रत्नदास प्रकाश पनि हुन् भने विष्णु भक्त फुँयालले पनि “कर्मया भोग”माज्यापुनि युवतीको भुमिका गरेका थिए । गैर नेवार भएर पनि नेपालभाषा जानेका विष्णु भक्तले  राम्रै तारीफ पाए । यसरी तारीफ राम्रै पाए पनि उनले घर व्यवहारले गर्दा आफ्नो अभिनय यात्रा भने जारी राख्न सकेनन् ।

२०२७ सालतिरको कुरा हो, उनले होटल रोयल छोडेर कमलपोखरी स्थित होटेल ल्होत्सेमा हेड कूकको जागिर पाए । त्यहाँ उनको भेट त्यहीं फ्रण्ट डेस्कमा काम गर्ने मुकुन्दकिशोर भईराइ सित भयो । दुवै जनाको रुचीको विषय अभिनय भए पछि उनीहरु बीचको मित्रता झांगियो । र राजन बस्नेत पनि यही समूहमा मिसिन आएपछि उनीहरुले मिलेर नाटक देखाउने योजना बनाए र उनीहरुले सामाखुसीमा एउटा नाटक देखाए ।

२०३१ सालमा पद्मोदय माध्यामिक विद्यालयद्वारा आयोजना गरेको कार्यक्रममा “सुकुलगुण्डा” नाटक मञ्चन गरे । यो नाटक त्यतिबेला भर्खरै शुरु भएको राष्ट्रिय सभागृहमा मञ्चन भएको थियो । विष्णु भक्तफुँयाल र मुकुन्दकिशोर भट्टराईको यो जोडिले नाटक मञ्चनमा निरन्तरता दिए । यो जोडिले मञ्चन गरेको “भत्किएको सपना”  तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानको आयोजना भएको नाटक महोत्सवमा मञ्चन भएको थियो ।

रङ्गकर्ममा सकृयता बढाई रहेका रङ्गकर्मि फुँयालको प्रगतिशिल विचारधारका साहित्यकार र कलाकारहरुसित निकटता बढ्न थाले पछि त्यतिबेलाका भुमिगत कम्युनिष्ट पार्टीका भातृ संगठन, “अखिल”काविद्यार्थीहरुसँग मिलेर पञ्चायति शासन विरुद्ध आवाज बुलन्द बनाउने नाटकहरु मञ्चन गर्न थाले ।

अभिनयमा मात्रै रमेर बसेका विष्णु भक्त फुँयालले त्यसपछि नाटक निर्देशन र नाटक लेखनमा समेत आफ्नो यात्रा अगाडि बढाए । २०४२ सालमा उनले अग्नीशिखाको नाटक “इज्जत”निर्देशन गरे । काठमाण्डौं उपत्यकाको विभिन्न ठाउँमा मञ्चन गरिएको यो नाटक मञ्चन गर्दा र पूर्वाभ्यासमा रहँदा समेत तत्कालिन शासकहरुको दमन सहनु परेको कुरा विष्णुभक्त फुँयालले आफ्नो एक संस्मरणमा लेखेका थिए । २०४३ सालतिर उनी नेपाल स्वतन्त्र मजदुर युनियनमा आवद्ध हुनपुगे ।

२०४६ सालदेखि उनीे सो संगठनका उपाध्याक्षका रुपमा सकृय भए । यसै बेला उनले श्रमिकहरुको पीडालाई अभिनय, लेखन र निर्देशनको माध्यमबाट निरन्तर रुपमा रङ्गमञ्चमा प्रस्तुत गरेका थिए । उनले त्यतिबेला उ पछुताउँछ, एकताको पल, रमाइलो, विकल्प खोइ, जीवन दिने आमा, हातलाग्यो शून्य, चिसो पैसा लगायतका थुप्रै विचारोत्तेजक नाटकहरु पस्केका थिए ।

यसै बीच विष्णुभक्त फुँयालको सम्पर्क रङ्गकर्ममा जीवन समपर्ण गर्दै आएका सुनिल पोखरेलसित भयो । नाट्यकर्मि पोखरेलको आरोहण समूहमा उनले रविशाह, शैलेश आचार्य, राजेन्द्र शलभ, सुर्यमाला शर्मा, खेम शर्मा, नारायण पुरी, बद्री अधिकारी जस्ता समर्पित रङ्गकर्मिहरुसित हेमचेम बढाउने अवसर पाए ।

आरोहण र गुरुकुलमा मञ्चन गरीने थुप्रै नाटकहरुमा अभिनय गरेका विष्णुभक्त फुँयालको बद्रि अधिकारीसित पनि सम्बन्ध गहिरींदै गयो । उनै अधिकारीले साहित्यकार रमेश विकलको कृति“अविरल बग्दछ इन्द्रावती”माथि टेलि सिरीयल बनाउँदा विष्णु भक्त फुँयालले गम्भीरे माझीको भुमिकामा अभिनय गरे । थुप्रै नाटक, चलचित्र टेलि सिरीयलमा अभिनय गरेका विष्णु भुक्त फुँयालले दीपक राज गिरी र दीपाश्री निरौलाको लोकप्रिय हास्य टेलि सिरीयल “तितो सत्य”मा गरेको “यो माइ लभ बुढा” को अभिनयका कारण उनको लोकप्रियता बढेको थियो ।

अभिनय गर्ने ने पछि हुरुक्कै हुने विष्णुभक्त फुँयालले भिडियो चलचित्र “संयोग”लगायत ठूलो पर्दाका चलचित्रहरु श्री स्वस्थानी, देउकी, रगत, मान्छेको माया, इन्द्रावती लगायतमा अभिनय गरे । उनले एक कलाकार र रङ्गकर्मिका रुपमा आफ्नो पहिचान बनाएका थिए भने उनी गीतकार र नाटककार पनि हुन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

२०५९ सालमा उनको नाटक संग्रह“बाध्यता”प्रकाशित भएको थियो भने यसै वर्ष मात्र उनको अर्को नाटक संग्रह“शहिदको सपना”प्रकाशित भएको थियो । २०४६ सालमा उनले श्रीमति वियोग सहनु परेको थियो । यही वियोगमा उनले रचना गरेको “मेरो मनको तारा कता हरायो” गीत गत वर्ष पुषमा डम्बर ढकालको संगीत र रञ्जित नेपालीको स्वरमा रेकर्ड भएको थियो । यो गीतमा प्रयुत्त तारा शब्द वास्तवमा उनकी श्रीमतिको नाम हो भन्ने कुरा पनि धेरैलाई थाहा नहुन सक्छ ।

देशमा बहुदल आएपनि गणतन्त्र आएपनि, सत्तासिन दलमा नलागेका कलाकर्मिहरुलाई कसैले वास्ता गर्दैनन् भनि गुनासो गर्ने गरेका विष्णुभक्त फुँयाललाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संस्थापनकालमा प्राज्ञ सदस्य नियुक्त गरेको थियो । रङ्गकर्म कै क्रममा उनले देश भरी आफ्नो कला प्रदर्शन गरेका थिए । देशमा मात्र नभई विदेशमा समेत आफ्नो कलाप्रदर्शन गरेका विष्णु भक्त फुँयालले लण्डन, बंगलादेश, भारत लगायतका देशमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए ।

आफ्नो जीवनको पछिल्लो समय उनी जोरपाटी स्थित घरमा एक्लै बस्दै आएका विष्णु भक्त फुँयालका तीन छोराहरु छन्  । विमल, कमल र निर्मल  कलाकारिताका साथै समाजसेवामा होम्मिएका उनी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा वडा नं ६ बाट वडा सदस्यका रुपमा निर्वाचित भएका थिए । यसरी रङ्गकर्म जीवन समर्पण गरेका विष्णुभक्त फुँयालले रङ्गमञ्चमा कर्म गर्दागर्दै दुर्लभ देहावसानको संजोग जु-यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *